Last modified on 11 मई 2020, at 20:26

भीड / पवित्रा लामा

कालो धुँवा र कोलाहलहरूबीच
कङ्क्रीट जङ्गलहरूमा
इडिपस र इलेक्ट्राहरू भई
तह तह भीड रम्न थालेपछि
सङ्लो समुद्रमा विलाउने आदिम चाहनाहरू
दह भएर जम्न थालेपछि

गाँउ फर्कने झीना आशाहरू
कुहिरोभित्र हराउँदै गएपछि
हामी पर्खिरहेछौं
भीडको सञ्जाल हट्ने पललाई

भीड हट्न मान्दैन
भीड घट्न जान्दैन

भीड कर्त्तव्यहरूका
भीड दायित्वहरूका
भीड सुविधा र सुरक्षाहरूका
भीड अहं र महत्वाकांक्षाहरूका
भीड यथास्थितिहरूका
कम्फर्ट जोनका महत्वाकांक्षी रक्तबीजहरूले
वृहत् अझ वृहत्तर लक्ष्यहरू
अघिल्तिर उभ्याएपछि
दैनन्दिनीका युद्धहरूमा
हामी चोइटिएका ढुङ्गाहरू भई
उछिटिएका छौं उद्गमबाट
छरपस्टिएका छौं बगरभरि
हामी अनि हामीजस्तै हजारौं कङ्कडहरू

छाती-छातीमा निरीह अभिमन्यु बोकेर
चक्रव्यूहमा फँसेका
विभीषिकाहरू
सुनौला पाटाहरू टललल देखाउँदै
पर अझ पर तान्दै लाने
मरीचिकाहरू

भीड,
पछ्याउँदै-पछ्याउँदै भीरमा पुगेको छ
हेमलिनका बाँसुरी तानहरूमा
नोस्टालजिया निरीह गाँउहरू बनेर...।