फेरि एकपल्ट
मानिसलाई
नितान्त निस्सहाय प्रमाणित गर्न खोजेको छ भुइँचालोले
मानिसका सोच र श्रम फुलेको सुन्दर स्वरूप
क्यै हैन भन्न खोजेको छ भुइँचालोले
भविष्यविरोधी यसले
वर्तमानलाई बीच बाटोमै लछारपछार पारेको छ
वर्तमानको बैँसमा म्वाइका अक्षर खोप्दै
तिमी आफ्नै भाकामा भविष्य रच्दैथियौ, अनु !
ती म्वाइका अक्षर
अचानक भत्केर पुरिएको छ आज
तर त्योभन्दा भयानक दृश्य त
तिम्रा तर्सिएका आँखा र लाटिएको मुखमा देखिरहेछु ...
उठ, अनु !
तिम्रा आँखाहरू उत्तिकै उर्वर छन् सपनाहरू उम्रनलाई
तिम्रा बान्किला ओंठमा बसिराखेको
त्यो बासी अचलतालाई
एक मुख पानीले कुल्ला गरेर फ्याँक
र ती ओँठहरूलाई हिंड्नदेऊ यौटा अर्को यात्रा...
हेर त,
धडनसोमै चोट लागेर थचक्क बसेको वर्तमान
फेरि उठिसक्यो
त्यसको आँखामा छ अझ बढी
चुनौतीपूर्ण निम्तालु बैंस !
उठ, अनु !
यत्ति बुझ्नू
कि मान्छेले
आफ्नो निर्बलतामै भेट्टाउने गर्छ
यौटा उदेकलाग्दो शक्ति !
हो,
तिमीलाई बाटोसम्म डोर्याउने तिम्रो आँगनमा
भर्खरै भुइँचालोले
अनिश्चितताको क्रूर प्रदर्शनी लगाइराखेर गएको छ
तर यत्ति बुझ्नू
कि अनिश्चितता यौटा बाजको झम्टाइ मात्र हो
त्यो झम्टाइपछि बाँचेको जीवन र जगत
तिम्रो आफ्नो हो l हामी सप्पैको हो l
अब उठ, अनु !
[अनु – काठमाडौं निवासी अङ्ग्रेजी भाषी कवि अनिता लिम्बु मोक्तान जसको दुईवटा कविता-सङ्ग्रह Silence of Solitude अनि Reflections in the Mirror of Time प्रकाशित छ l ]