Last modified on 2 दिसम्बर 2020, at 22:39

भुइँ टेकेर बाँच्नेहरू - ७ / रेमिका थापा

पसीनाहरू अक्षरमा झर्दो हो त
गैह्री खेतको गैह्री पुरिएर सप्पैले देख्ने अग्लो थुम्का
भइसक्ने थियो र अहिले
आफ्नो कथा आफै फटाफट भन्न सक्नेथ्यो ।
इतिहासका पन्नाबाट पुछिएका मेरा
रगतका अक्षरहरू भने
प्राकृतिक-अप्राकृतिक प्रकोपग्रस्त देशको
कुनाकुनामा
त्राणकार्यमा
हरक्षण अस्त-व्यस्त खटिरहेका हुन्छन्।

काँध पिल्सिएका
कपाल खुइलिएका
नचिन्ने बनाइएका
मानव अस्तित्वका
झर्रो - झर्रो अक्षरहरूलाई
फुर्सदै कहाँ
सिनिक्क भइरहनु !

खेत-खलिहान, पाखा-भित्ता, लेक - बेसी
जतासुकै जहिलेसुकै
आँसुको चिसेनी र पसीनाको गन्धले
लतपताइरहेकै हुन्छन्-
कहिले भ्याउनु र
बाजाहरू विज्ञापनले चिटिक्क पर्नु !
कहिले उभिनु पाउनु म !
माटोलाई चुमेर लगातार बीउ रोपेको रोपेकै
यतातिर
विराट समूहले नै देश उभाउने बीउ रोपिरहेकै छ
कति अथाह समयदेखि।

घोप्टिएका ती असङ्ख्य नाङ्गो ढाडहरू जोडिएर त
बनेको छ देशको हरियो आँगन  !

म कहिले सुकिलो हुनु पाउनु ?
कहिले सजिलै भन्न पाउनु मैले
रियालिटी शोको रङ्गारङ्ग मञ्चमा उभेर-
'आइ लभ इण्डिया !'