ती जो बिहानै काखीमा पुस्तकको ठेली च्यापेर
हूलका हूल निस्किरहेछन् गल्ली-गल्लीबाट
तिनलाई बाटो छोडिदेऊ !
ती लहर जस्तै उर्लेर आइरहेछन् ।
यी घर - जसलाई हामी घर ठानिरहेका छौँ
यी सडक - जसलाई हामी सडक भनिरहेका छौँ
यी मन्दिर - जसलाई हामी मन्दिर सम्झिरहेका छौँ
यी केही पनि प्रशस्त हुने छैनन् उनीहरुका लागि ।
ती त सपना बोकेर आइरहेछन् - निर्माणका गीत गाउँदै
उनीहरुलाई छेक्न नखोज !
आफूलाई चाहिने घर
आफूलाई चाहिने सडक
आफूलाई चाहिने मन्दिर
उनीहरु आफैँ बनाउनेछन्
निश्चित छ - भोलिको नेपाल उनीहरुले चाहे जस्तै हुनेछ ।