Last modified on 15 अप्रैल 2020, at 12:04

भ्रान्त खोज / गीता त्रिपाठी

यी पुस्तकजस्ता आँखाहरू
किन धरधरी च्यातिरहेछौ

बिउँझाउन खोजिरहेछौ फेरि
ती सम्हाल्नै नसकिने भयानक सपनाहरू ?
 
समय-टेबुलको वरिपरि
छरेर भावनाका पत्रहरू
रचाएर नयाँ संस्करणका मृत्यु-उत्सव
कस्तो युगको आव्हानमा
बटुलिरहेछौ
बारूदका बेहिसाब हस्ताक्षरहरू
बिर्स्यौ अथवा सम्झनै चाहेनौ ?
 
एकचोटि फर्केर हेर
आफ्नो युगको अनुहारमा
अझ विभत्स बन्दै गएका दागहरू
 
अधिनायक सपनाका ए दक्ष योद्धा !
 
आफ्नो पछाडि सिङ्गै पाठशआला छोडेर
कुन ज्ञानको खोजिमा लम्किरहेछौ तिमी ?
 
बत्तीहरू निभाएर
युग फेरिने भए
मानिसहरू गुफाबाट
कहिल्यै बाहिरिने थिएनन् !