मित्र मधेस !
पहाडबाट ओर्लिन सकिनँ
मेरो एक टुक्रा पुख्र्यौली जमिनको संरक्षण गरिदिनू ।
पहाडबाट
पहिरोले चिथोरेको माटो खोज्दै
झरेकी थिइन् मेरी आमा मधेसमा
ढुङ्गाको छानो छाडेर
खपडाको टोपी लाएको घरभित्र
मधेस बन्न आएका थियौँ हामी कुनै दिन
मेरी आमाले ल्याउनुभएको पहाडे सिमी
तिम्रो बारीमा
झुत्तिन्थ्यो उन्मुक्त
तिम्रो बाले दिनुभएको मधेसी फर्सीको बियाँ
हाम्रो बारीमा गट्टा हाल्थ्यो निसङ्कोच
हाम्रा सद्भावहरू नचिनिने गरी साटिन्थे घरीघरी ।
सुन्छु,
बाटो बढ्दै छ रे मधेसमा
तिम्ले र मैले
पुलीडण्डा खेलेको बाटो
धूलो उडाउँदै रिङ गुडाएको बाटो
मधेस र पहाड नछुट्याइ हिँडेको बाटो
पस्दै छ रे पहाड भन्ठानेर मेरो मधेसी जमिनमा ।
मित्र मधेस !
मेरो राष्ट्रवादमा तिम्रो मधेसको रङ उत्तिकै छ
त्यही मधेसको पानी मेरो रगतमा
बगिरहेको छ हरपल
मेरो शरीरबाट
मधेसकै माटोको सुवास आइरहेको छ निरन्तर
कसैले बाटैमा रोकेर सोध्यो मलाई—
तँ मधेस होइनस्, कसरी हुन सक्छस् ?
तिम्रो मधेसको पानीले
मेरो पहाडे मनलाई छोप्न सकेकै रहेनछ
तिम्रो मधेसको माटोले
मेरो पहाडे गन्धलाई जित्न भ्याएकै रहेनछ
सुन्दा अचम्म लाग्यो,
तिम्ले र मैले एकसाथ
आँखा खोलेका थियौँ चेतनाको
तिमी मधेस भएछौ,
म मधेस हुन सकिनछु ।
मित्र मधेस !
पहाडबाट ओर्लिन सकिनँ
मेरो एक टुक्रा पुख्र्यौली सद्भावको
संरक्षण गरिदिनू ।
००
(बाल्यथलो सर्लाहीको सुकेपोखरी पुगेर)