Last modified on 4 जून 2017, at 15:46

मनहरूको परिसर. / निमेष निखिल


सधैँसधैँ बाँचेर एउटा सुकिलो विभ्रम
आफ्नै अभिप्रायहरूको एउटा जङ्गल छिचोल्छ मन
सम्भावनारूको जुलुस निकालेर सडकभरि
मन : मनजस्तै आशा रोप्छ
र मनजस्तै निराशा फलाउँछ
फेरि मन, मनजस्तै निराशा रोप्छ
र फलाउँछ मनजस्तै आशाहरू
स्वतन्त्र मन निर्बाध घुमिरहन्छ
मनहरूको पसरिसरमा
बन्दी मन/व्यथित छट्पटाइरहन्छ
मनहरूकै परिसरमा ... ...।
 
सधैँसधैँ एउटा अवश्यम्भावी अनिष्टको आशङ्का बोकेर
कमनीय वेदनाहरू सँगाल्छ मन
आवाजभरि शान्तिको गुञ्ज बोकेर स्वच्छन्द उड्छ मन
मुट्ठीमुट्ठीमा आक्रोशका फिलिङ्गाहरू बोकेर
हरेक पाइलामा विष्फोट विभीषिका कुल्चन्छ मन
मन/फेरि पनि मनै हो
उत्फुल्ल मन हरेक बिहान आशाका सुनौला किरणहरू
समाउँछ हत्केलाभरि
र बिस्कुन हाल्छ मनहरूको पसिरसरमा
उदास मन, हरेक साँझ फेरि समाउँछ
निराशाका सुनौला गोधूलि किरणहरू
र फेरि बिस्कुन हाल्छ
मनहरूकै परिसरमा।