Last modified on 14 अगस्त 2024, at 23:31

मन / सानु शर्मा

सानो छुकछुके बालकजस्तै
अबोध, अज्ञानी र अटेरी मन !

पोल्छ भन्ने जान्दा जान्दै
आगो छुने चाह राख्ने,
सामर्थ्यको पर्खालभन्दा बाहिरको इच्छाउने,
परिधीको घेराभन्दा टाढाको आकाङ्क्षा राख्ने
जुन सम्भव हुदैन, त्यही आँट्ने
जे प्राप्य छैन त्यही, माग्ने ।

न मनाएर मान्ने
न सम्झाएर सम्झिने
यो एकोहोरो मन !

कहिले काहीँ, तर
अबोध चाहमा फुलेको
जून टिपेर पोल्टामा राखिदिने
दूरदराजको देशबाट
इन्द्रेणीको सातै रङ्ग चोरेर ल्याइदिने
कति सबल, कति सक्षम यो मन

बहलाएर, फकाएर
कसैले नदिएको साथ दिएर
दुश्चिन्ताको जङ्गलमा
निश्चिन्तता फूलाउन सक्ने
यो चमत्कारी मन !

आत्माको घाउमा
आँशुले भिजेको फाहा राख्दै
ओठमा सुनाखरी फुलाइदिने
भौतारिँदै एक्लै कहीँ हराएको बेला
डोऱ्याएर बाटो देखाइदिने
कति असल, कति सुन्दर
कति पवित्र यो मन !

मलाई यही मनको पछिपछि
स्वतन्त्र बगिरहन मन छ, नदीजसरी
निर्बाध बहिरहन मन छ, हावाजसरी
निर्विरोध, मनमौजी दौडिरहन मन छ
मन नै जसरी ।
००००