Last modified on 16 जुलाई 2017, at 16:41

मन १ / सविता गौतम दाहाल


किन यति कोमल भएको ?
पहिरोको माटो जस्तो
पूरै कमजोर !
पूरै शिथिल !
पूरै खुकुलो !
कसरी अडिनु ?
लडन मात्र तयार छ
खस्न मात्र जानेको जस्तो !

आशूँ किन यसरी
लगातार बनिरहेछ यसपल्ट ?
सवै लुटिएर केही नभए जस्तो
मन किन यसरी रित्तिएको ?
आफैलाइ छन् हजार हजार प्रश्न !

कारण छन् र छैनन पनि
स्थीरताको यो लडाइमा
मन किन यसरी हार खाएको ?
किन सम्हालिन नसकेको ?
साह्रै कमलो, साह्रै द्रविभूत
किन चोटहरु विर्सन नसकेको ?
आफैलाइ छन हजार हजार प्रश्न !

कतैपनि मन किन नअडिएको ?
केही गरुँ, कँही पुगूँ, कसैलाइ भेटूँ
केही पनि त छैन मनको वसमा
हावाले उडाएको भुवादार फुल जस्तो
आकाशमा यताउता उडीरहेछ मन !

समात्न खोज्छु थप चोट लाग्ला भनि डराउँछु
छोडी दिऊँ
कता पुग्ला ! कता अल्झीएर
अस्तीत्वनै गुमाउला कि !

छोडनपनि सकिरहेकी छैन
मन किन स्थीरताको युद्वमा
कसैलाइ मारीरहेको छैन
केवल , आफूलाइ वचाएको छ
थामिएर निरन्तर
खोज्नु छ हजार हजार प्रश्नका उत्तर !