Last modified on 21 फ़रवरी 2022, at 19:53

मसँग बदनाम आयो / सुमन पोखरेल

जीवनभर नभुल्ने, मायाको इनाम आयो
सग्लो दिएथेँ मुटु, चर्केर दश ठाम आयो
 
सोधे मलाई जब, मेरो मलिनताको कारण
शुष्क ओठमा अनायस तिम्रो नाम आयो
 
चर्किरहन्छ हृदय, सधैँ जोडिरहन्छु म
प्रेमको उपहार स्वरूप यो के काम आयो ?
 
व्यर्थै गाएँछु गजल, प्रेमको रङ्गमा डुबेर
अदृष्य रह्यौ तिमी, मसँग बदनाम आयो
 
के राख्छौ फूल तिमी मेरो तसवीरमा ऐले
थाह छ मलाई, कोको, मेरो मलाम आयो
 
कहाँ पठाऊँ जवाफ यत्रो संसारमा सुमन !
कसले पठायो कुन्नी, एक चिट्ठी बेनाम आयो