Last modified on 23 जून 2020, at 15:41

महान पीडा / रमेश क्षितिज


अनायास
उदासीको हुस्सु खसेर छोप्छ मेरो अनुहार
समुद्रको किनारजस्तो बन्छ हृदय
उर्लिनथाल्छन्– हजार ज्वारभाटाहरू एकैपल्ट
जब देख्छु आँगनमा
एक–एक दाना टिप्दै गरेकी चराकी आमालाई !

झरीमा रुझ्दै
कहिले सहँदै असिना र चर्को घाम
उडिरहन्छे चराकी आमा– नाँघ्छे दुर्लङ्घ्य पहाडहरू
नदी र डाँडाहरू
रूख, जङ्गल र हरिया बुट्यानहरू
तर एक दिन
जब लाग्नेछ पखेटा बचेराहरूको
उड्नेछन् उनीहरू माथि माथि
बिर्सिनेछन् झोक्राएर तल बसेकी त्यो एक्ली चरी
र पुरानो गुँडलाई

चराहरूकै आमा हुँ सायद म पनि
अनन्त सम्भावनाहरू कुल्चेर
एकदिन टाढा जानेछ मेरो प्रिय खुसी

मसँग बाँकी रहनेछ फगत्
एक महान् पीडा !