Last modified on 25 अगस्त 2024, at 20:08

मातृत्व / गीता त्रिपाठी

 
बदलिँदारहेछन्
सौन्दर्यका स्थापित मान्यताहरू
समेटिएर अनुभूतिका रङ्गैरङ्गमा
बाँकी हुँदोरहेछ मात्र वात्सल्य,
आमा भएपछि ।

लागिरहँदोरहेछ निरन्तर जिन्दगीको भोक
लागिरहँदोरहेछ,
बाँचिरहूँ सधैँ बिर्सेर ताप
र तीसँगैका प्रतितापहरू।

हरेक पलक्षण पग्लिनु
पग्रिनु र तृप्त पारेर तृप्त हुनु
अहो ! आफू बगिसकिनुको आनन्द उनैलाई थाह होला
बदलिँदारहेछन् सन्तोकका अर्थहरू
आमा भएपछि ।