Last modified on 20 अगस्त 2020, at 20:11

मातृभूमि / महमुद दरविस / सुमन पोखरेल

म त्यहीँको हुँ।
जीव जन्मिएजसरी जन्मिएका मेरा स्मृतिहरू छन्‌।
मेरी एउटी आमा हुनुहुन्छ, र झ्यालैझ्याल भएको एउटा घर छ,
मेरा दाजुभाइ छन्‌, साथीहरू छन्‌,
र सिरेटो छिराउने एउटा झ्याल भएको जेलको एउटा छिँडी छ।

समुद्री चराले खोसेका तरङ्गहरू छन्‌ मेरा,
मसँग मेरो आफ्नै सोचाइ
र घाँसको थप एउटा त्यान्द्रो छ।
शब्दहरूको पल्लो किनारमा हाँसिरहेको जून मेरो हो,
र चराहरूको अप्रतिम कोसेली
र ओलिभको अजम्बरी रुख मेरो हो।
यसको जिउँदो शरीरलाई
तरवारहरूले क्षतविक्षत बनाउनुभन्दा पहिल्यैदेखि
हिँडेको हुँ म यो भूमिमा।
 
म त्यहीँको हुँ
जहाँ आमा खोजेर रुँदै गरेको आकाशलाई मैले
उसकी आमाको काखसम्म पुर्‍याइदिएथेँ
र आफूलाई बादलले चिनोस्‍ भनेर रोएँथेँ।

नियम भत्काउन सक्ने हुनेछु भनेर शब्दहरू सिकेँ मैले
जो रगतको खोलोभन्दा ज्यादा मूल्यवान थिए।
मैले सबै शब्दहरू सिकेँ र भत्काएँ तिनलाई
र बनाएँ एउटा शब्द - 'मातृभूमि'।