Last modified on 17 फ़रवरी 2021, at 23:38

मानवप्रति / विद्यानाथ पोख्रेल

सपनाजस्तो जीवन हाम्रो, मर्नुछ आज कि भोली
तैपनि केको लालच हो यो हेर न आँखा खोली
आफू सिवाय सारालाई हेर्ने तुच्छ गराई
भर्ने आफ्नो पेट रमाई निर्धालाई छकाई ।

देशभरिका भोकानाङ्गा बिल्लीबाठ परेका
हेर्नु कसरी मुटु फुटाई खान नपाई मरेका
ए मानव ! के तेरो दिलमा रत्ति विवेक रहेन
एस्तो सङ्कट देख्दा पनि के आशुँ कत्ति बहेन ?

मर्नुछ निश्चय तैँले पनि यो सम्झी बारम्बार
कैयौँ एस्तै पाखण्डीले खाए भारी मार
तैँले काँचा चर्मचक्षुले देख्न सकिनस् होला
दिलका आँखा खोली हेरे चिन्लास् आफ्नो चोला ।

राम कृष्ण र बुद्ध रहेनन्, गान्धी-महात्मा खोई
तेरो गति के होला मानव सम्झी छाती छोई
पीडितले नै जान्दछ सारा दुःखीजनको करूणपुकार
प्रसववेदना आमा जान्लिन् अडकल अरूको बेकार ।

भरियाहरूको पीठ गढेको मोटरवाला के जानोस्
कृषकहरूको भोको दर्द ढुकुटीवाला के मानोस्
आफूले पनि कष्ठ सहेर गर्नुपर्छ केही भलाई
ए मानव ! तेरो यो स्वार्थीपन असल लाग्या छैन मलाई