Last modified on 16 मार्च 2017, at 09:08

मान्छे माटो गन्हाउँछ / मनप्रसाद सुब्बा


दूबोको एक सुइरो पात म
धरतीको काखीमा उम्रेको यौटा रौँ
धरतीको काखी मलाई मीठो गन्हाउँछ ।

माटोले लिपेको माटोको घ्याम्पाभित्र
जाँडमा उब्जेको कीरा – मान्छे
माटो छिप्पेको जाँड गन्हाउँछ ।

बालुवाको गर्भबाट जन्मेको कछुवा
बालुवाको ओथ्रामा अन्डा पार्छु म
ती अन्डाबाट धरतीको माया पल्हाउँछ ।

अश्वमेध यज्ञ गरी छाडिएको घोडा म
मेरा टापहरुको गतिलाई
धुलो उठेर माटोले पछ्याउँछ ।

चिलब्लेन चिलाइरहेको मेरो पैतालाभरि
आफ्नै मानचित्र खोप्दै धरतीले
क्षितिजदेखि क्षितिजसम्म यात्रा ओछ्याउँछ ।

गौंथलीको मुखमा थोप्ला थोप्ला हिलो चेपिँदै
अन्जुली जस्तो गूँडभरि सृष्टि बोकेर
धरती मेरो घरको सिलिङमै टाँस्सिन आइपुग्छ ।

खानीभित्रको मजदुर कि सबम्यारिनभित्रको नाविक होस्
या त स्पेस-सटलभित्रको एस्ट्रोनट नै किन नहोस्
मान्छे त हरक्षण माटो नै गन्हाउँछ