Last modified on 14 अगस्त 2024, at 23:31

मायाको मीठास / सानु शर्मा

मायाको परिणाम
मिलनमा नै खोजिने भए पनि
बिछोडप्रति उत्तिकै लागव छ मेरो ।

डबडबाएका आँखाभरी
प्रतिक्षै प्रतिक्षा बोकेर
जिन्दगीको किनारमा उभिँदा
जति बुझिन्छ मायाको महत्व
मिलनका अँगालोमा बुझ्न सकिँदैन ।

छटपटाएको अँगालोभरी
चाहनै चाहना भरेर
कल्पनाको मझधारमा बग्दा
जति भेटिन्छ मायाको मिठास
स्पर्शको उष्णतामा भेट्न सकिँदैन ।

मिलनमा भरिपूर्ण भएर
अहम्‌लाई प्रतिक्षण आफ्ना बीचमा उफार्दै
टाढिँदै जाने हरेक क्षणसँगै
गुनासो, प्रतिरोध र विवादको चिसोले सेकिएर
बिस्तारै बिस्तारै सेलाउँछ माया ।

बिछोडमा विह्वल भएर
आफुलाई प्रतिपल मायालुको नजिक अनुभूत गर्दै
बित्दै जाने प्रत्येक पलसँगै
कल्पना, सम्झना र तर्कनाको मीठासमा फैलिएर
झन झन मौलाउँछ माया ।

मायाको परिणाम
मिलनमा नै खोजिने भए पनि
बिछोडप्रति उत्तिकै लगाव मेरो ।
००००