Last modified on 24 मई 2021, at 11:15

मुक्ति / अभय श्रेष्ठ

१.
एउटै कविताका पृष्ठ र अक्षर–
हामी दुई !
तिम्रो हृदयको कारागारभित्र बन्दी रहुन्जेल
मेरो आकाङ्क्षाका चञ्चल चराहरू
उडिरहन्थे बेफिक्री आकाशमा
म थिएँ आफ्नै मर्जीको शीतल शीतल बतास
मुक्त भएर डुलिहिँड्थेँ
मनका शान्त तपोवनमा
यो जिन्दगी थियो एक सुवास ।

भर्खरै बसेको प्रेमजस्तो
मगमगाउने मूःस्वां र सुगन्ध
हामी दुई !
जब तिमी उभिन्थ्यौ मसामु
हृदयको ढोका खोलेर
लहना स्वयं हुन्थ्यो लहलह
र, हावासरि फैलिन्थेँ म चारैतिर ।

एउटै आँखाका दुई परेला
दुई अक्षरका एकै शब्द
हामी दुई !
एक्कासि के भयो,
यो खुला संसारमा
ठडियो वर्णको भित्ता
जब अदक्ष प्रुफरिडरले शब्दका अक्षर छुट्ट्याएझैँ
मुक्त ग¥यौ मलाई
तिमीले आफ्नो हृदयको कारागारबाट
त्यसपछि नै बन्दी भएको हुँ म
बिग्रेको धाराभित्र बन्द पानीजस्तै ।

२.
त्यसपछि नै यो हावाझैँ अनिवार्य भएको हो मेरो गति
र, उदासीको कालो खिया लागेको ताल्चा फोडेर
खोज्दै हिँडेको हुँ म
मुक्तिको नयाँ आकाश
किनभने जीवनको बास्ना स्वयं दुर्गन्धित थियो यहाँ
गलत थिए नजिरहरू
धर्मशास्त्रजस्तै गलत थियो इतिहास ।