न मैले तिमीलाई लक्ष्मण रेखाले बाँधेको छु
न मैले बाँधिदिँदैमा तिमी बाँधिन्छ्यौ प्रिये !
मन लागेको बेला फड्केर हरेक साँझ
म जस्तै तिमीलाई पनि हिँड्ने रहर होला कता-कता
म त यसबेला खोला जस्तै बगेको छु
त्यसैले कुनै बाँधले तिमीलाई पनि छेक्नु छैन ।
हिजो मलाई कसैले जिउनुको परिभाषा सोध्यो –
मैले थाहा छैन भनिदिएँ ।
हो, म त एउटा परिभाषामा पनि बाँधिन चाहन्न भने
तिमीलाई किन बाँधूँ मेरो चाहनाको घेराले,
सके बरु प्वाँख थपिदिन्थेँ तिमीमा
जताततै उडिहिँड्न आफ्ना इच्छाहरुसित
अब त कता-कता थकाइको अनुभव भइरहेछ आफैँलाई
र बिसाइदिऊँ जस्तो लागिरह्छ जिन्दगी यो ।