आसन्न मृत्यु खोकी राख्यौ
बोझ जिन्दगीको बोकी राख्यौ
गाँस्यौ नाता अँध्यारोसित
उज्यालो सधैँ खोजी राख्यौ
त्यत्तिका उमेर बाँकी छँदै
कात्रोमा किन गोजी राख्यौ
पलायन हुँदा विदेशतिर
बगाएनौ आँसु रोकी राख्यौ
तिम्रो पोसाक खोइ सुहाएन
लगाएर क्याप टोपी राख्यौ
इज्जत लुटिँदा द्रौपदीको रोजै
आँखा आफ्नो छोपी राख्यौ
मेरो प्रार्थना सुन्नै चाहेनौ
नबोल्ने देउता ढोगी राख्यौ
मैले तिमीलाई सम्झिरहँे
तिमीले अरूलाई सोची राख्यौ
यति विघ्न पछ्याउँदा पनि
उपेक्षाले कति घोची राख्यौ
आफ्नो मुख फोरिनौ कहिल्यै
मेरो माया जोखी राख्यौ
खुलेआम उडाएर उपहास मेरो
मुटुमा कीला ठोकी राख्यौ
दियौ केवल अपमान र पीडा
खुसी भएभरको खोसी राख्यौ
सम्झना दिलाउँदा विगत इतिहासको
भुइँमा आँसु पोखी राख्यौ
माग्दा हिसाब मेरो वँैसको
नङ आफ्नो टोकी राख्यौ ।