मुहार छ उसको सधैँ फूलको डालीजस्तो
छिमेकी छ फूल टिपी बेच्ने मालीजस्तो ।
महफिलमा बसेपछि यस्तै हुन्छ सधैँ
कोही झारीजस्तो अनि कोही प्यालीजस्तो ।
थाप्लोमाथि हिउँ पर्दा बल्ल थाहा हुन्छ
बाढी आए खोलानाला नत्र नालीजस्तो ।
कल्पनाले मन हाम्रो भरिँदैन कैले
तिर्सनाले मन हुन्छ सधैँ खालीजस्तो ।
चिनाउनु कसरी खै आफूलाई आज
जात, थर भन्दाखेरि लाग्छ गालीजस्तो ।
‘मनु’ भन्या मान्छे नै हो तर पनि कस्तो ?
मलाई भने लाग्छ सधैँ ऊ नेपालीजस्तो ।