Last modified on 8 मई 2017, at 14:30

मेरो अरथि उठाउने कविता / राजेन्द्र भण्डारी

कुसङ्गतमा परेका बदमास छोरा भए
मेरा अप्रकाशित कविताहरू ।
छाडी गए मलाई अलन्तारमा ।
कुनै–कुनै ता टाढैबाट फिस्स हाँसेर हिँड्नेसम्म भए ।
चिठीसम्म नपठाउने कृतघ्न परदेशी भए ।
तर मेरो अरथि उठाउन आउनेछ ।
त्यही सधैँको मभित्रको मेरो अलिखित कविता ।
वर्षौंदेखि मलाई नै रुँगेर बसेको
त्यो मेरो साक्खै कविता ।
केही गर्न सकिनँ बिचरो त्यसलाई
नलेखेर अन्याय पनि गरेँ होला ।
तर लेखेको भए त्यो पनि दाजुहरूजस्तै त हुन्थ्यो होला ।
पख्–पख् भन्दै थुनिराखेँ
दिनभरि अनेकौँ मञ्चहरूमा
कहिले नायक बन्छु, कहिले खलनायक/विदूषक बन्छु।
हरेक नाटकपछि सबै संवाद बिर्सेर, वेशभूषा खोलेर
बेलुकी त्यसैसँग निदाउँछु।
तर केही गर्न सकिनँ त्यसलाई
एउटा सफा सेतो कागजसम्म दिलाउन सकिनँ।
तर त्यसैले पिलाउनेछ पानी मलाई मृत्युशय्यामा
उठाउनेछ मेरो अरथि ।
त्यो मभित्र मगमगाइरहेको
मैले रगतले सिँचेको त्यो इन्द्रकमल
म कस्तूरीले नाभिमा बोकिहिँडेको बिना त्यो
विपद्को सखा
त्यो मेरो अलिखित कविता ।

उठाउनेछ एक दिन त्यसैले मेरो अरथि ।