तिम्रा ढाँट कुराहरूको नङग्राले चिथोरेर
मेरो इतिहासको ढाड रगतपच्छे पारे तापनि
समयले उहिले नै
ट्याटू गरिराखेको शब्दहरू
ढाडमा जस्ताको त्यस्तै छन्।
तिम्रो खुट्टाले पाएको सेकेण्ड-ह्याण्ड बूटले
मेरो इतिहासको हत्केला थिचिराख्न खोजे पनि
हत्केलाभरि खोपिएका
ती धड्किँदा रेखाक्षरहरू
अलिकति पनि मेटिने होइनन्।
मेरो इतिहासको मुखभित्र जुन जिब्रो छ नि
त्यसको आकृति नै मेरो गाउँको मानचित्र हो
र त्यो जिब्रोले
जुनै भाषा बोले पनि
कुरा चैँ त्यसको कहिले बदलिने होइन।
(१० अगस्ट २००८)