Last modified on 3 फ़रवरी 2015, at 16:12

मेरो जीवन लेकझैँ / भूपी शेरचन

मेरो जीवन लेकझैैँ बिरानो थियो
मेरो दुनियाँ
मुर्दा मोल्ने बगरझैँ सुनसान थियो
र म आफ्नो जीवनको लेकमा
चमरी गाईको गोठालोझैँ एक्लो थिएँ
तर एक–दिन
तिमी मेरो जीवनमा भैँचालोझैँ अकस्मात् आर्या
तिमीलृ मसित प्र्रीत लायौ
मेरो स्वरमा–स्वर मिलाएर गीत गायौ
मैले बधाई दिएँ आफनो यौवनलाई
अन्तमा तिमीले पनि कसैको प्रीत पायौ
तर
जस्तो कि थियो मलाई डर
निरन्तर अपमानित भएको मानिसको हृदयभित्र
अभिमान थाकेझैँ
वृद्ध शरीरभित्र प्यारमा थाक्यौ
अनि फेरि आउँला भनी
नदीको लहरमा नाचेको पातझैँ
भोरको प्रतीक्षामा बाँचेको रातझैँ
तिमी बेपत्ता भयौ
कुन्नि कता गयौ
यद्यपि मलाई थाहा थियो
तिमी अब कहिल्यै आउँदिनौ
मेरो स्वरमा स्ार मिलाएर अब तिमीले
कहिल्यै गाउँदिनौ
तैपनि मैले तिम्रो प्रतीक्षा गरें
तिमी भने
कुनै अप्ररिद्ध नयाँ लेखकको
प्रथम पुस्तकको दोस्रो संस्करणझैँ
वादा गरेर पनि कहिल्यै आइनौ
म भने
आज पनि विना कुनै आशको
विना कुनै विश्वासको
कुनै कुरुप बूढी कन्याको सिउँदोले
सिन्दूरलाई पर्खेझैँ
तिमीलाई पर्खिरहेछु
किनकि आज म भित्र–भित्रै
हिमशिलाझैँ चर्किरहेछु।