Last modified on 12 नवम्बर 2017, at 15:18

मेरो टोपी कविताले लगाउँछ / मञ्जुल


मेरो टोपी
कहिलेकाहीँ दराजले लगाउँछ
कहिलेकाहीँ बाकसले
कहिलेकाहीँ गलैँचाले लगाउँछ
कहिलेकाहीँ गिटारले
कहिलेकाहीँ कुर्सीले लगाउँछ
कहिलेकाहीँ पर्खालले

मेरो टोपी
कहिलेकाहीँ मेरो कविताले लगाउँछ।
म चाहन्छु
मेरो टोपी आकाशले लगाओस्
सारा नीलिमाले,
बहिरहने बतासले लगाओस्।
यस्तो सोचिरहेका बेला
मेरो टोपी
कि त मेरी सानी छोरीले लगाइरहेकी हुन्छे
कि घरको अँध्यारो कुनाले
कसैले वास्ता नगरिएको
मिल्किएको घरको कुनाले…..।