रुखबाट पात झर्यो
गुँडबाट बचेरा खस्यो
हावाले हात दिन सकेन
तल निक्कै तल जिन्दगी खस्यो !
कुन्नी कुन फेदीबाट बग्दै आएको थियो
आँसुको एक अञ्जुली संवेदना
अस्तित्वको मृत्युमा रातभर शीत जम्यो !
उसै पनि म वाष्प थिएँ
माथी उठेँ
खसेँ
कतै अड्किएँ
र विलाएँ !
उसै पनि
म हिउँका कणहरू थिएँ
कतै जमेँ
पग्लिएँ
र सकिएँ !
उसै पनि
म शून्य निर्मित शून्य थिएँ
आएँ
गएँ
र रित्तिएँ !
यद्यपि
फेरि पनि
कठोर यातना - निर्मम चिसो र चरम वर्षात् सहेर
म पुन: जन्मनेछु !
मेरो पुनर्जन्म
नयाँ ऋतु
नयाँ मौसम
नयाँ याम हुनेछ !
मेरो पुनर्जन्म
कहिल्यै नअस्ताउने
नयाँ घाम हुनेछ !
नयाँ जन्ममा
मेरो नयाँ नाम हुनेछ !
०००