फूल भनूँ काँडा भनूँ के के भनूँ कसो भनूँ
मेरो प्रिय ! तिमीलाई नजिक या टाढा भनूँ ।
गएपछि टाढा तिमी यथार्थमा पर भयौ
तैपनि यो कलेजीमा कतैतिर नजिक छौ
मेरो प्रिय ! तिमीलाई कहाँसम्म पछ्याऊँ म
उजेलीले नपुगेर अँधेरीमा ठम्याऊँ म ।
नदेखिने हुँदो रैʼछ नेटो काटी गएपछि
कहाँ हात समाऊँ म नछोइने भएपछि ?
मेरो प्रिय ! तिमीलाई नबिर्सने माया गर्छु
रङ्ग कुनै नमैलियोस् पर्खिएर बाटो हेर्छु ।
यतिबेला सल्लेरीको भाका पनि रोएको छ
बग्दै जाने बतासमा सुसेलीले छोएको छ
मेरो प्रिय ! तिमीलाई सञ्चै छ कि विसञ्चो छ ?
यति धेरै खुल्दुली छन् के कस्तो छ कस्तो हुन्छ ?