Last modified on 18 जुलाई 2017, at 15:00

मेरो मायाको नयाँ संस्करण / बैरागी काइँला


धेरै अघि मेरो हजुर–
ताराको पथमा डुलाउँला
सपनाझैँ स्वर्गमा लैजाउँला
अमृतका कणकण पिलाएर
अमर इतिहासमा बनाउँला..

...यी प्रतिज्ञा मैले गरेको थिएँ ।

ती सब भूल थिए कि
मेनाकाको यौवन दिलाउँला भनेको थिएँ!

तर, अब त यति ढुक्क हुन सक्छुः
कि म यस धरतीको मानिस
यहाँको गुलाबमा फुलेको मानिस,

हजुरलाई..........
सारी किनिदिनु सक्छु,
होटल लगी खुवाउनु सक्छु
चौरास्ताको बाटो ठुलाउँन सक्छु,
सत्यवान भइदिन सक्छु, चरित्रवान् भइदिन सक्छु,
म हजुरलाई........
बाँचुञ्जेलसम्म माया गर्न सक्छु,

स्वर्गको उडानमा मैले
घरकै सिढी उक्लन बिर्सिएछु!
अमरत्वको भरममा मैले
झण्डै बाँच्न नै बिर्सिएछु!

मेरो धरतीलाई धेरै रुवाएछु !
मैले मानिसको हृदयको अपमान गरेछु
तर अब त यति ढुक्क भई भन्न सक्छुः

कि म यस धरतीको मानिस
यहाँको गुलाबमा फुलेको मानिस

हजुरलाई.........
कालिदासको शकुन्तला बनाउन सक्छु,
भरतझैँ विभूतिको आमा बनाउन सक्छु,

पराजय पनि स्वीकार गर्ने मानिस
माया पनि गर्ने मानिस
मानिस हुँ भइदिन सक्छु !
म हजुरलाई..........
बाँचुञ्जेलसम्म रक्षा गर्न सक्छु!

यसरी
पहिलेका भूल संशोधन गरी
मेरो कविताको भर्खरै प्रकाशित कितापजस्तो
यो हजुरको टेबलको फूलदानमा
बिहानै फेरेर राखेको नयाँ फूलजस्तो

मेरो मायाको नयाँ संस्करण
यी दुई आँखाका
ट्रेमा लिएर आएको छु !

जहाँ हजुरले मलाई
र मैले हजुरलाई
सधैँ–सधैँ पाएको छु !