Last modified on 9 जून 2020, at 21:40

मेरो सपना तिम्रो आँखाभरि / सुमन पोखरेल

मैले देखेका सपनामा
कोको अटाए भनेर
बिहानभरि खोज्दा मैले,
सूर्योदयको लालिमाले
क्षितिजलाई आफूतिर तान्दै तान्दै
पृथ्वीलाई घुमाइरहेजस्तो,
टाढाका आकृतिहरूलाई
आफूतिर तानेर
नजिकका आभासहरूलाई
परपर ठेल्दै ।

विवश छु जिन्दगीदेखि
विवश छु म मेरा परिवेशहरूदेखि
मेरा सबैथोकदेखि
कि
जीवन मेरो
बाँचिरहेछु म आफैँ
तर
जसरी चाहन्छ मलाई बाँच्न जीवनले
त्यही गतिमा, त्यही प्रकृयामा ।

यस्तै बेलामा मलाई प्रायः
भ्रम हुने गर्दछ कि
म जीवन बाँचिरहेछु
वा
जीवन म बाँचिरहेछ?

मलाई सन्देह लाग्न खोज्दैछ
कि म
जीवन पटक्कै बाँचेको छुइनँ,
बरु, जीवन मलाई बाँच्दैछ
पटक-पटक
हरेक वस्तुमा
हरेक अङ्गहरूमा
मेरा हरेक अवयवहरूमा ।

उफ !
यो पसिना
उफ !
उफ थकाइ
आहा !
यो कृयाशीलता
धिक्कार !
यो विश्राम ।

यी विश्रामहरूमा मैले के पाएँ ?
यो शरीरलाई
बिसाएर एकैछिन

कति ढीलो भइसकेँ ?

सूर्योदयको लालिमाले
क्रमशः तान्दैछ
समयलाई
पश्चिमबाट पूर्वतिर ।

यो बिहानीमा
कतै दिन भइसकेको छ
मैले बिसाउने रातहरूमा
कतै दिन दौडिरहेको हुन्छ ।

 * * *

यो हेराइ
आँखाहरूको हो, या
कतै तिमी रोएथ्यौ
मेरा सपनाहरूमा ?

तिमी रोयौ भने
त्यो एकीकृत रुवाइ हो
तिम्रो र मेरो ।
अनि अरू कसकसको
धेरैजसोको, र
सबैजसोको ।

एउटा चुम्बन
आफ्नै छातीभरि
एउटा म्वाई
आफ्नै निधारभरि
एउटा जीवन आफ्नै शरीरभरि
ओछयाएर

बाँचिरहेछु सायद
थुप्रैथुप्रै जीवनहरू आफूभित्र ।

छरेर दृष्टिहरू पाखाभरि
छरेर मायाहरू बाटाभरि

बाँचिरहेछु सायद
टुक्रा टुक्रा जीवनहरू आफू बाहिर ।

मेरो सपनामा कोको अटाए
म खोजिरहेछु
सूर्यास्तको लालिमामा रङ्गिएको क्षितिजभरि
अनि
तिम्रो आँखाभरि
हेराइ, र आँशु
र गहिराइ
र मायाको एउटा संसारभरि ।