आँखामा यौटा समय चेपेर
पूर्वतिर गइरहेको क्षितिजलाई
तिनीहरूले
च्यातचुत पारेर डस्टबीनमा हाल्न खोजे ।
ढुङ्गे दाह्राले दार्नसम्म दारेर रगतपच्छे पारे ।
त्यो क्षितिजको निधारबाट बगेको रगत
तर पुरानो रोमान्टिक हिन्दी फिल्ममा जस्तो
बग्दै भुइँमा शब्द लेखिएन ।
त्यो त साँच्चैको रगत थियो
त्यसैले, भुइँको रानीमासुभित्र पस्ने गरी
सोसियो । अनि अलकत्रे सडकको तावामाथि
पोखिएको रगतले चैँ आफ्नो
जन्मदागको गाढा टाटा नमेटिने छोडिराखेर
वाफ बनी उठ्यो आकाशतर्फ ।
त्यो पोखिएको रगतमा कति लाख
रातो-सेतो रक्तकण थिए -
समयले हिसाब राखेको छ ।
तर यत्ति बुझ्नू कि यौटै रक्तकण पनि
मरेको चैँ छैन नि !
युनियन-ज्याक ओर्लेर उहिल्यै गइसके तापनि
त्यसको फ्ल्याग-पोल खडा छ
मेरो आँगनमै अझै । त्यै पोलबाट
निस्किआएका हुकुमतका डन्ठाहरूले
निधारको क्षितिज क्षत-विक्षत पारिदिए
घाम, जून झुल्कन नपाओस् भनेर ।
आगोको फिलुङ्गो फुलेको त्यो यौटा क्षणलाई
निमोठेर चुँडाउन
ठूलै तमासा गरे साला हरामीहरूले ।
थाह छैन कि त्यो यौटा क्षणको मूल जरा
यो धरतीको गर्भभित्र कुन गहिराइमा
गुटमुटिएर बसेको छ ।
त्यो क्षणको टाउकोबाट कति रक्तकण छरियो,
समयले नै हिसाब राखेको छ।
अब फेरि
रगतले संवेदित भुइँ
र वाफले ब्यूँझेको आकाश मिलेर
अझ अग्लो क्षितिज उठ्छ चेपेर ओठमा घाम...
( १० एप्रल २००८)