तारा, जून, रात रोए सबैसबै शीत भयो
आँसु पोख्ने रहर थियो मैले रुँदा गीत भयो
विचित्र कै हुँदोरहेछ, मायाप्रेमको खेल पनि
एकपल्ट के हारिदिएँ सधैँ मेरो जीत भयो
त्यसबेला त्यस्तै भयो गीत कुनै सुने जस्तो
उनकै रूप सुनिरहेँ, सौन्दर्य नै सङ्गीत भयो
मलाई बिर्सी, उनैलाई हेरिरह्यो लठ्ठिएर
देखेर मुहार उनको ऐना मेरो चकित भयो
बैरी हौ, हत्यारा हौ या हौ देउता मेरो ?
पिलाएथ्यौ विष ठानी, मेरो लागि अमृत भयो
झस्क्याइदियो धड्कनले आज मलाई सुमन !
उनलाई दे’को मुटु, कसरी मसित भयो ?