‘राख क्या !’
‘नाईं, तिमी पहिले राख !’
‘होइन, तिमी राख !’
‘तिमी राख न !’
लम्बिरह्यो
उनीहरूको वार्तालाप ।
माया मात्र होइन
मिठास, मोहकता
र मनुहार पनि थियो संवादमा
जसका कारण
मगमगाइरहेथ्यो प्रेमको फूल ।
आफ्ना सबै काम छोडेर
दुई छेउबाट भनिरहन्छन् उनीहरू
‘अब तीन गनेर
एकैसाथ राखौँ है त !’
‘एक, दुई, तीन !’
तर एक अर्काको सासको धून सुनिन नछोडेपछि
दुबै भन्थे
‘खै त राखेको ? राख न !’
र,
एकपल्ट उसले
राखिदिई फोन
सधैँका लागि !