तस्वीर,
मेरो रङ्गीन तस्वीर
मलाई नै देखेर झस्कन्छ,
अनि त्यसै रुन्छ;
शायद रगतको सानो थोपालाई बिर्सिएछ !
उसको माया सबै फ्रेममा बिर्सिएका छन् ।
म सधैँ उसलाई प्रश्न गर्दछु-
तर प्रश्नको उत्तर
मौन र निश्चल हुन्छ,
न चुम्बनको प्रभाव उसमा हुन्छ,
न जीवनको प्रभात उसमा हुन्छ,
हृदयको कुत्कुती भास्सिदै जान्छ
तैपनि लस्कने साहस गर्दैन,
बेहोश छ;
उस्को मुस्कान सधैँ मौन
दिन पनि मौन
रात पनि मौन
मिलन पनि मौन
वेदना पनि मौन
जम्मै पथ मौन ।