Last modified on 23 जून 2020, at 09:00

म नेपाल खोज्न थालेको छु / ईश्वरवल्लभ

हरेक बेलुकीपख साँझ म एउटा कुरा सोच्न थालेको छु
सो केही पनि होइन र सन्दर्भित छैन, र पनि सोच्न थालेको छु,
एउटा एकान्तताको सवाल त्यहाँ छन्, त्यहाँ, एउटा भीडको पनि
कि मैले सोच्न थालेको कुरा बकैनाको र धूपीको छ,
म हरेक पतनको खोजी गर्दै छु कि, जहाँ अभिश्पतहरू छन्
र उग्राउँछन् घाँटीभरिका चाराहरू राल चुहुन्जेल,
र चपाउँछन् निल्न ओकल्न छायाहरू,
म ता व्यर्थैको कुरा भन्जे भनेर बदनाम पनि छु,
कि म कुरा गर्छु व्यर्थैको वागमतीका बगरहरू
र कुरा गर्छु ती आकाशका नभेटिने ताराहरू, भातका सिताहरू
म कुरा गर्छु केकेमा एक प्याला तातो पिएको कुरा
म कुरा गर्छु भट्टीमा एक बटुका चिसो पिएको कुरा
म कुरा गर्छु सडकमा एउटीको आँखा भोगेको कुरा
म कुरा गर्छु एउटा बिहान व्यर्थै ब्युँझेर
झ्यालबाट पनेरामा हेरेको कुरा ।
म एउटा कुरा सोच्न थालेको छु
त्यो बिहानको बैँस त रहेन दिन भयो,
घाम भयो, साँझ भयो, मर्योक
खिड्कीबाट सधैँ हेरिरहेको हरियो आलुबखडको रुख भएन
जङ्घार तथा मैले डराएको डर भएन
सल्लाका नाङ्गा र निर्लज्ज रुखहरू भएनन्
खोलाका अघिसराइ र पहाडको स्थिति पनि भएनन्
भएनन् एउटा वृक्ष जसको छहारीमा म सुत्न सक्छु
र युगहरूदेखिन्को थकाइ एकछिन बसेर मेटन सक्छु
मेरो देश पनि मेरो भएन, मेरो आँगन मेरो भएन,
भएन, गारो र पर्खाल अनि पगडण्डीहरू मैले जन्मेका
यहाँ त पहिलेदेखिन् संतप्त मानवहरूका गुफा रहेछन्
यहाँ कसैले सुहानुभूति भएन, कथा भएन, गीत भएन
यो त टिटानको देश सबै श्रापित छन्
कोही पनि एउटा बेग्लै देवता भएन !
हरेक क्षणसित जुझिरहेका सबै जीवन पनि केही मेरा भएनन् ।

म त खोला बगाइसित जिन्दगी हेर्न खोज्थेँ
म खोज्थे, पहाड उचाइसित सपना उभिएको खोज्थें
म टाढाबाट देखेको त्यो शैलभरिका दिनहरू
मेरो आँगनमा मलाई रुझाउन बगेको खोज्थेँ
म त कोठाको निर्लिप्ततामा कसैको अविरोध खोज्थेँ
म खोज्थेँ मसानको आतङ्क अनि त्यसलाई
मेरो आफ्‌ना कुरा भनेर सोच्थेँ
यहाँ केही भएनन्,
यहाँ केही भएन वेश्याको एउटा शरीर शायद खोज्थेँ
त्यो पनि भएन (कहीँ बन्द छ ! त्यो वेश्या)
म टाढाबाटा आएको तिम्रो देशको हुँ,
म कसरी गर्व गरुँ मेरो देशमा मेरो केही पनि भएन ।
त्यो त एउटा खोला थियो मसित आएर भन्थ्यो—
म त्यहीबाट बगेको हुँ, जहाँ तिम्रो देश छ,
त्यो त एउटा हावा थियो जसबाट बास्ना आउँथे
कि मेरो देशको जहाँ मेरो देश छ,
त्यो त आकाश थियो, त्यो गम्भीर थियो
त्यसको अग्लाइ मेरो देशको जस्तै थियो,
त्यो त एउटा खेलौना थियो मलाई लोभ्याउँथ्यो
कि त्यो मेरो देश हो भनेर,
म ब्यूँझन्थे, सम्झाउँथ्यो, म खेल्न सक्छु
म चल्मलाउन सक्छु, तिम्रा धागाहरूमा,
मैले भनेको थिएँ- 'यो विडम्बना हो ?'
उसले भन्यो- समात छेउ, मैले छेउ समातेँ
(वास्तवमा चल्मलायो)
अहिले मरेको छ,
शायद मेरो खेलौना मरेको छ
कि माटो मरेको छ
कि देश मरेको छ,
म एउटा कुरा सोच्न थालेको छु !
म आकाश सोच्न थालेको छु,
म बतास सोच्न थालेको छु,
म खोला सोच्न थालेको छु,
म बकैना सोच्न थालेको छु,
(किनभने मेरो प्रवासमा बकैना थिएन)
म सडकको पूर्व जाने, फर्केर पश्चिम आउने
फेरि पूर्व जाने, अड्किने, अल्मलिने भीड सोच्न थालेको छु ।
म त्यसै भीडमा छु र त्यसलाई सोच्न थालेको छु,
यहाँ पूर्वाग्रह छैनन्,
यहाँ ती फैलदिएका मैदान कि ती उकाली-आराली छैनन्
यहाँ ती चियाका बुटाहरू र मकैका बोटहरू पनि छैनन्
यहाँ बग्छन् मानिसका टाउकाहरू गिदी नभएका परसम्म,
खोज्न कि, नपाउन र अभ्यस्त हुन त्यस अप्राप्तिमा,
यहाँ बग्छन् अग्ला घरहरू पूर्वदेखिन् कि पश्चिमसम्म,
अलकतराका नदीहरू जिउँदै, पसलहरू जिउँदै
मानिस यहाँ हुँदै हुँदैन, कोही हुँदैन, राक्षस पनि हुँदैन
(किनभने जीवन हुँदैन)
म, अचेल तिमीलाई हेर्न थालेको छु,
र, तिम्रो जीवनलाई मेरो सोचाइभित्रसम्म हेर्न थालेको छु,
यहाँ तिमीबाहेक केही सोच्ने कुरा नै छैन
त्यसैले अचेल म खुट्टा,
जाँघ, आँखा, छाती, औँलाहरू
र, पैतालाहरू
अनि तिम्रा ओठहरू व्यर्थै सोच्न थालेको छु ।
वास्तवमा म नेपाल सोच्न थालेको छु ।