Last modified on 10 मई 2020, at 21:21

यति चाँडै कसरी बिर्सूँ / किरण खरेल

यति चाँडै कसरी बिर्सूँ सिमसिमे पानीले रुझेको
मोतिजस्तो पानीको थोपा तिम्रो कालो केशमा तर्केको

सुनसान बाटो थियो सुनबुट्टे रात
हिँड्दहिँड्दै छोइएथे सुकुमारी हात
धड्कनले आपसमा गरेका झैँ कुरा
झन्झनाई बजे तिम्रा चिरबिरे चुरा
यति चाँडै कसरी बिर्सूँ सिमसिमे पानीले रुझेको

बाटो हिंड्ने दुइजना एउटा थियो छाता
जुलाफी ति तिम्रा गाला देखिएथे राता
तिम्रो भने भिजेको थियो आधा जिउ सारा
मैले भने पुछेको थिए पसिनाका धारा
यति चाँडै कसरी बिर्सूँ सिम्सिमे पानीले रुझेको

कपालको पानी आई पृथ्वीमा छर्की
कुन्नी किन भागेकी ‘थ्यौ अलिकति तर्की
दुई कदम पर तिम्रा पाउ रोकिएथे
अचानक यो छातीमा सास छेकिएथे
यति चाँडै कसरी बिर्सूँ सिमसिमे पानीले रुझेको