Last modified on 16 मार्च 2017, at 10:30

यशोधराको अदालतमा सिद्धार्थ / मनप्रसाद सुब्बा


सिद्धार्थ !
के बुद्ध बन्नलाई
मान्छे यति निष्ठूर पनि हुनपर्छ ?

मलाई सुइँकोसम्म नदिई तिमी राजदरबारबाट बेपत्ता भयौ ।
तिमी गएपछि मेरा दिनहरू भतभत पोल्ने भए
रातहरू काँढासरिका चिसा भए
सयौं बत्तीले पनि नउज्यालिने निस्सासिँदा रातहरू !
रातैपिच्छे चिसो सिरानी कहिल्यै ओभानो भएन ।
तिमीबिनाको दरबार मेरो लागि कारागार भयो ।
लोग्ने नमरीकनै म विधवा भएँ ।
सब त्यागेर तिमी गएको सम्चार छन्दकले सुनाउँदा
बुबाझैँ मुर्छा नै चैं परिनँ म
तर भित्र कतानेर गहिरो दुखें, दुखिरहें
परित्यक्ता पत्नीभित्र अपमान पनि दुखें
फेरि सोचेँ – धेरै दिन निर्मोही भइबस्ने छैनौ
दुइ-चार दिनपछि फर्किनेछौ ।

तर दिन र रातहरू एकएक सूत घस्रेर
छाती पिल्सिरह्यो
छोरो राहुल काखमा नहुँदो हो त
यो अनन्त समयको मरुभूमिमा म बालुवाको कण उडिसकेको हुन्थें।

म तिम्री पत्नी।
कुनै पनि काममा हामीले
एकअर्कालाई विश्वासमा लिनुपर्ने होइन र ?
जीवनको यति ठूलो निर्णय
तिमी एक्लैले लियौ ।
परिवार त्यागेर
मेरो शरीर र स्वाभिमानलाई लत्याएर
तर कायरले जस्तो सुटुक्क सुइँकुच्चा ठोक्यौ।
बुढा बाउलाई बर्षौंसम्म फिक्रीमा सुकायौ
पत्नीको पत्नित्वलाई घात गर्यौ
छोरोलाई बाबुको स्नेहबाट वञ्चित राख्यौ।

तिमीजस्तै सप्पै मान्छेहरू यदि
सांसारिकताबाट यसरी भागे भने
संसार कसरी चल्छ?
संसारिक मान्छेहरुबिना संसार कहाँ रहन्छ, सिद्धार्थ?
संसारबिनाको पृथिवी कस्तो होला, कल्पना गर त !

त्यसैले तिम्रो त्यो महाभिनिष्क्रमण
मानव-प्रकृतिबाटै पलायन हो कि होइन, भन त ?

हैन, तिमी किन बोल्दैनौ हँ ?
तिम्रा आँखा किन यसरी आधा खुलिएका ?
स्थितप्रज्ञ जस्तो तिमी किन यति अचल र शान्त ?
अरे! यहींभित्रै पो गुन्जिंदैछ त – बुद्धं शरणं गच्छामि
ओ न्यायमूर्ति !
तपाईं पनि उठेर गाउनुहुँदैछ – बुद्धं शरणं गच्छामि !

यै हो त तपाईंको आजको फैसला ?