हररात आई सपनामा तिनले फकाउने गर्दछन्
माया मारी जानेले यसरी सताउने गर्दछन्
तिमीले नै छोडिगए नि गर्दिनँ केही गुनासो
दु:ख पर्नेसँग सबैले साथ छुटाउने गर्दछन्
भीरमा पुग्यो जिन्दगी मेरो, फिर्ता लैजाऊ तिम्रो माया
बाटो अप्ठ्यारो भो’ भने, भारी घटाउने गर्दछन्
जीवन अँध्यारो पारिगयौ, यो मुटु यस्तै जल्न देऊ
अँधेरी रातमा हिँड्दा नै राँको सल्काउने गर्दछन्
सार्है कठोर रहिछ्यौ तिमी, मेरो मलामी पनि आइनौ
मरेपछि त बैरीले पनि माया देखाउने गर्दछन्
व्यर्थै मरेजस्तो भयो, के थाह र पहिले सुमन !
वास्तै नगर्नेले अचेल चर्चा चलाउने गर्दछन्
(कवि कमर जलालवीमा समर्पित)