Last modified on 16 जुलाई 2017, at 16:15

यस पटक कविता / सविता गौतम दाहाल


यस पटक कवितामा लय छैन्
उ संगै वेन्चीमा वस्ने हरफ वेपत्ता छ
ख्याल ठट्टामा उसको वोली हरायो
उसका कलम,कापी र टुकी दुखी छन
कुण्ठा बुझ्न
यति धेरै गुमाउनु, टाढिनु जरुरी थियो थिएन् ।

विम्वहरु खण्डीत, ठाऊँ ठाऊँ चुडींएका
मक्कीएका डोरीजस्तै
संगीत कतै डुल्न गएको भान हुन्छ
पंक्तिमा एकरुपता, उक्तिको महत्व
कतै केही छैन् ।

साचै यस पटक कवितामा लय छैन्
कवितामा ताजमहल त छ
मुमताजलाइ कसैले चिन्दैन
सबै एम्नेजिया ग्रसित
कोही केही बुझदैन् ।

कवितामा नारायणहिटी दरवार त छ
राजकुमारी कसैले देख्दैन्
अन्जान थिचिएको एउटा स्वीच
आकृति–भय, आकार–मोह
कतै केही छैन् ।

अपुरो कविता छहारीमा सुस्ताउछ
सूर र ताल पर्खेर वस्छ
सवै विज्ञसंग समय लिन
कविताप्रेमी गुडने राजमार्ग छेऊ
बन्द खुल्ने लय कुरेर बसिरहेछ
यस पटक कविता ।