Last modified on 1 जून 2017, at 20:49

यात्रामा / निमेष निखिल


खुइलिएर गएको अनुहारको चमक
चोइटिएर झरेका हाँसोका टुक्राहरू
बिर्सेर गन्तव्य
यताउता हावामा बरालिँदै उडेका सपनाका बुट्टाहरू
कसका हुन् ?
 
कसले मिसायो हावामा जीवनको सुवास ?
पानीले ल्यायो कताबाट जीवनकै रङ ?
जिन्दगीकै जस्तो लय र ताल कहाँबाट चोरे चराहरूले ?
कसका ओठबाट लुट्यो हिमालले स्निग्ध हाँसोका फोहोरा ?
आखिर कसले भगायो मान्छेबाट मान्छेलाई ?
 
आँखाभरि अझै हाँसिरहेछ खित्का छाडेर प्रकृति
सबैलाई उछिन्दै कल्कलाएकै छन् झरना र खोलाहरू पनि
हिमाल मुस्कुराएकै छ―
सधैँ जस्तो मान्छेका मुस्कानहरू खोसेर
किन मान्छे मात्रै मौन उभिएको देखिन्छ–
दुखैदुखको समुद्रछेउ एक्लै एक्लै ?
पर्खेर मात्र– आइहाल्छन् कि
आउँदा रहेनछन् हाँसोका धर्साहरू ओठको क्षितिजमा आफै
उदाउँदा रहेनछन् खुसीका पिलपिले ताराहरू–
मनको आकाशमा अनायास
नेपथ्यबाट गुन्जिँदो रहेनछ आनन्दी धुन जीवनको आँगनमा।
उकेर्दै– समयको साँढेजुधाइले निरुपाय जीवनलाई
आफै निस्केको छु आज यात्रामा जे त पर्ला
खोसेर हावाबाट जीवनको सुवास,
पानीबाट जीवनको लय र ताल
लुटेर हिमालबाट मान्छेका मुस्कान
म मान्छेसम्मै फर्काउने अभियानमा लागेको छु।
 
सपनाहरू !
मलाई रोक्दै नरोक
यति बेला म यात्रामा निस्किएको छु।