Last modified on 4 जून 2017, at 16:06

यात्रामा कविता / निमेष निखिल



बिचेत पल्टेको छ समय
सडक किनारमा
कुल्चँदै भलादमी पाइलाहरू छिचोलिरहेछन्
एकपछि अर्का कालखण्डहरू।
 
समय स्वानुकूल भएन कहिल्यै
प्रतिकूलताको कालो ह्वेल पौडिरहेछ आँसुदहमा
फगत् आशाका तानहरूमा
जिन्दगी फणा उठाइरहेछ जिस्क्याइएको गोमनझैँ
जीउनु नामको यात्रा
फेदीदेखि चुलीसम्मकै दूरीमा लम्पसार छ
अल्छी पाइलाहरू तैपनि घस्रिरहेछन्
केवल बाँच्नुको अनुभूति।
 
पट्यारलाग्दो यात्रामा
बलात् नियाल्दै छु अपलक
कविता ठिङ्ग उभिएको छ मअघि
हेर्छु– नितान्त परिचितजस्तो
अनन्य आत्मनजस्तो
मेरो कल्पनाभन्दा ठिक विपरीत
मलाई आफ्नै व्यथाहरूको
महागाथाजस्तो लाग्यो कविता
आशाका मसिना त्यान्द्राहरू समातेर
पर्वतारोहण गर्ने आरोहीझैँ लाग्यो
सत्ते भन्छु हजुर!
यसपालिको कविता मलाई
ऐनाअघि उभिएको आफैँजस्तो लाग्यो।