Last modified on 25 अगस्त 2024, at 16:55

यात्रा / सुमन पोखरेल

बोकेर टाउकाभरि
अस्तित्वरक्षाका सरदामको भारी
हिँडिरहेछ मानिस
हिँडिरहेछ अनवरत ।

सृष्टिको शुरुवातदेखिको
अपरिमित हिँडाइ पश्चात् पनि
बाँकी छ उसँग अझै
अदृश्य बाटाको अनिश्चित हिँडाइ ।

यात्राको गन्जागोलमा मानिस
अक्सर
बिर्सिरहेछ, छोडिआएको ठाउँ कहाँ थियो
बिर्सिरहेछ, पुग्नपर्ने ठाउँ कहाँ हो ।

आफ्नो हिँडाइको उद्धेश्य बिर्सिरहेछ
हिँडाइका सहयात्रीहरूलाई बिर्सिरहेछ
र बिर्सिरहेछ मान्छे
आफ्नै शरीरलाई समेत कयौँपल्ट ।

यात्रारत मान्छेले सम्झिरहे पनि, या
सबथोक बिर्सिगए पनि
उसको हिँडाइको एकातिर
सम्झनामा भिजिरहेको छोडिआएको क्षणको आभास छ
उसको हिँडाइको अर्कोतिर पुग्नेपर्ने बासको आँगन छ ।