Last modified on 23 जून 2020, at 15:31

युद्धग्रस्त सहरमा / रमेश क्षितिज


प्रेम वर्जित छ यो सहरमा
निषेधित छ मुस्कान

हिड्दाहिड्दै दागिनसक्छ छातिमा सङ्गीन
वा टाउकोमाथि खस्न सक्छ तुलबम
हतियारसहित आएको कुनै अज्ञात समूहले
गर्नसक्छ अपहरण घरभित्रबाटै
वा कपालका रौं हल्लाएर जानसक्छ बन्दुकको गोली

एकछिनअघि झन्डाझैँ हावामा लहराइरहेको
ट्राफिक समयको हात
टक्क थामिएको छ यतिखेर
र जीवनका सुनसान राजमार्गहरूमा केवल
रातको कुकुरझैँ रुँदै दौडेका छन् साइरनहरू

यस्तोबेला पुग्नु छ मलाई हुलाकघरसम्म
र लिएर आउँनुछ
टाढाबाट मेरी प्रियतमाले पठाएको
जन्मदिनको शुभकामना कार्ड !