खै, यो के यस्तो भयो !
यहाँ त बाँच्नै हम्मे परिसक्यो
सुख त अब भाग्यमै कहाँ ?
मुख बाइरहेका हुन्छन् चिन्ताका अजिङ्गर सपनामा
मुख बाइरहेका हुन्छन् भोकका अजिङ्गर बिपनामा ।
खाइसक्यो-खाइसक्यो मेरो मासु
लुछिसक्यो-लुछिसक्यो मेरो मासु
चिन्ता-भोकको अजिङ्गरले
पीर-मर्काको अजिङ्गरले
अस्तित्व मेरो केवल अब
हाड र छाला,
नसा र एक-दुई थोपा रगत
अनि हुरुक्क-हुरुक्क एक मुठी श्वास् ।
कहाँ जाऊँ ?
वनमा जाऊँ - लगार्छन् वनका चितुवाले
घरमै बसूँ - घेर्छन घरमा पालेकाले
चैनको त कुरै कहाँ ?
नीदको त कुरं कहाँ ?
बस्ने ठाउँसम्म कतै छैन
कडिने ठाउँसम्म कतै छैन
चिल्छन् कमिला, रोटे, सातबोटेले
चुस्छन् उपियाँ, उडुस, लामखुट्टेले ।
लौ, मैले घरलाई घरसम्म भन्न पाइनँ
ऊ दलिन र भर्याङबाट मुसाको लस्कर
ऊ प्वाल-प्वालबाट मुसाको लस्कर
ती त आहार खोज्न निस्केका होलान् पक्कै !
ए यी त मेरो कान हुन् - रोटीका ट्क्रा नठान !
ए यो त मेरो नाक हो - रोटीको टुक्रा नठान !
होइन, त्यो कुनाबाट म्याउँले मतिर के हेरेको ?
होइन, त्यो ढोकाबाट कुकुरले मतिर किन हेरेको ?
लौ ! तिनको पनि पेट दावा लागेको छ
लौ ! ती पनि दाँत कट-कटाइरहेछन्
हेर, यहाँ म छु - तिम्रो मालिक
मलाई चिन्न सकेनौ र ?
यो के देखिरहेको छु आज मैले
खै, आँगनमा रोपेको मखमली ?
के भए - इन्द्रकमल, चाँप, जाई, चमेली ?
के भए - मैले बढाएका ती फूलहरु ?
लौ, त्यो राते खसी
लौ, त्यो तीखे गोरु
किन ती मतिर हेर्छन् मुख बाएर !
किन ती मलाइ हेर्छन् ठाडो घाँटी लाएर !!
मेरो थाप्लामा यो त केश हो - घाँस होइन,
मेरो थाप्लामा यो त केश हो - पराल होइन ।
खै, आज किन बास्दैन त्यो रातो भाले ?
खै, आज किन घुर्दैन त्यो कौडे भाले ?
लौ ! ती पनि मतिर हेर्दैछन्
लौ ! ती पनि मलाई नै घेर्दैछन्
ए, यी त मेरा आँखा हुन् - मकैका गेडा नसम्झ !
ए, यी त मेरा आँखा हुन् - तोरीका गेडा नसम्झ !
यी त मेरा आँखा हुन् - आँखा
तिमीहरुलाई देख्ने आँखा - भवितव्यलाई नदेख्ने आँखा !
यो घाँटी पनि आजै खस-खसाएको ?
यो खास किन अड्की-अड्की चलेको ?
यो हावा - होइन, यो हावा किन बारुद-बारुद गनाएको ?
गुहार ! गुहार !! बचाऊ ! बचाऊ !!
धुरिए धुरिए - कमिला ! रोटे !!
चुसिएँ चुसिएँ - उडुस ! लामखुट्टे !!
रगतको गति नै बन्द भयो मेरो !
नसाको गति नै बन्द भयो मेरो !!
ए, लग्यो ! लग्यो !!
रातो भालेले मेरो दायाँ आँखो लाग्यो !
कौडे भालेले मेरो बायाँ आँखो लग्यो !!
मुसाले मेरो कान लग्यो !
मुसाले मेरो नाक लग्यो !!
मैले देख्न छोडेँ - मैले सुन्न छोडे !
लौ म त कामै नलाग्ने भइसकेँ !!
छोडिदे यो मेरो मलमली केश - ए राते !
छोडीदे यो मेरो मखमली जुल्फी - ए तीखे !!
जा, म खुइलो भइसके !
जा, म बुच्चो भइसकेँ !!
बस, अब ढुक्क भयो
बस, अब सञ्चो भयो ।
यो, के फेरि ?
चितुवा, ब्वाँसा, चिल र गिद्ध !
लुछिएँ लुछिएँ छाला खै मेरो ?
अब यो हड्डीमात्र म कसरी बाँचूँ ?
हो, अब त म हड्डीमात्र बाँकी रहेँ,
अब त कङ्कालमात्र बाँकी रहेँ,
तर बाँकी नै खै कहाँ रहेँ ?
कुकुरले मेरो नलीहाड लग्यो !
कुकुरले मेरो करङ लग्यो !
लग्यो, लग्यो, कुकुरले मेरो कङ्काल लग्यो !!
लौ म त निखिएँ !
लौ म त शून्य भएँ !!
यो के भयो ? यो के भयो ?