अक्सर धुलो
मेरो घरसग ठट्टा गर्छ,
मेरो परिश्रमलाई सजाय दिन्छ,
जसरी राज्यले
मेरो जिन्दगीसँग दिल्लगी गर्छ ।
धुलो, हावामा हुत्तिदै आउँछ,
दलिनमा, पर्दामा
अनि पुरै रङ्ग छोपेर
छ्याप्प पोखिन्छ
फूलका पत्रमा,
त्यसरी, मेरो आँगनमा
सहस्र नारा आउँछन्
मेरो पसिनाको अर्थलाई
झ्याप्प छोप्छन्
बेढंगले, बदलाको गीत गाउँछन् ।
निर्लज्ज लाग्छन्
अभिनयजस्तो छली किन छन् ?
म जान्दिनँ,
नयाँनयाँ नक्साका बाटाहरु
नाजायज सामर्थ्यको हल्ला
र नफुल्ने सपनाको फूल बोकेर
किन यसरी बिनाताल मर्किरहेका हुन् ।
कि बेहोश छन् ?..
प्यास कति बाँडेका हुन् ?
नबल्ने उज्यालोको
नचल्ने इन्धनको
र कहिल्यै नसकिने युद्ध सचेतनाको ।
मेरो घर मुस्काएरै
यी ठट्टासँग जीउँछ,
अपत्यारलाई स्वागत गर्छ
समयको ध्वाँसो पुस्न नसकेपनि
जीवनको औषधी छ
पीडामा भत्कदैन।
अचेल म पो बुझ्दनँ,
यो निर्लज्ज धुलो जस्तो छ कि
देशकै ज्यादती जस्तो छ
मेरो संवेदन,
जीवनका मसिना खुशीसँग पनि जिस्कन सक्दिनँ,
जसरी मेरो राज्य
मेरो जिन्दगीलाई
धुलो सम्झन्छ
टेक्छ, टक्टक्याउछ र फेरि ठट्टा गर्छ,
कदापी यो ठट्टा होइन
मैले यो राज्यलाई
मेरो प्राणको नजीकै राखेको छु ।