Last modified on 9 जून 2020, at 21:58

यो मेरै देश हो / सुमन पोखरेल

खोलामा पानी हैन
ढुङ्गा बग्छन् उँभोतिर
किनार बग्छ
किनार पर्तिरका रुखहरू र
पहरा बग्दछन्
क्रमशः माथि माथितिर ।

यस्तो अनुभूति गर्न
पानी हुनुपर्छ
मझधार हुनुपर्छ ।

किनारमा बसेर नियाल्नेले
पानी नै बगेको देख्दछ ।

खोलामा पानी हैन ढुङ्गाहरू बग्छन् मास्तिर, भन्नलाई
सापेक्षित हुनुपर्छ
पानी हुनुपर्छ, मानिसले ।

किनारलाई माथितिर दौडाउन
ढुगालाई सगरमाथा बनाउन
सगरमाथालाई अझ बढी चुल्याउन,
अनवरत नियमित लगातार
स्वच्छ निर्मल पारदर्शी भएर बग्नुपर्छ
पानी भएर ।

 * * *

यो देश तर, मेरो देश हो
यहाँ सगरमाथा पहिलेदेखि नै छ
त्यसैले छ ।

यहाँ अब म पनि छु
त्यसैले सगरमाथा अरू चुलिने छैन ।

बिहान घामले कोठामा पसेर मेरा आँखा नच्यातुञ्जेल
निद्रा खुल्दैन मेरो,
म ब्यूँझुञ्जेलमा संसार निकै हिँडिसकेको हुन्छ,
यो मेरो देश हो, म सँगसँगै हिँडछ
त्यसैले हिँडदैन ।

बिहान चिया प्यूँदासम्म हाsssई गरेर
दिनभरि अरूको कुरा काटेर
साँझमा रक्सीको प्याला रित्याएपछि
राती एक सुस्केरा हाल्दैमा मैले
सगरमाथा अग्लिँदैन ।

यो मेरो देश हो
अनि उसको अभिशाप
सगरमाथा पनि यहीं छ
सगरमाथा अग्लो पार्न
ढुङ्गालाई मास्तिर बगाउनुपर्छ
पानी भएर
निर्मल स्वच्छ पानी ।

सङ्घर्ष गर्नुपर्छ
अनवरत नियमित लगातार ।

तर
ममा परम्परा हराएको छ
आफ्नो निम्ति लडने जाँगरको
अस्तित्वबोधको
राष्ट्रवादको
अरूका लागि मात्र वीर हुँ म
यो मेरै देश हो ।