यौटा भयानक युद्धपछि तिमी जन्मियौ
तिम्री आमाको प्रसव-चीत्कारको अन्तिम पङ्क्ति
तिम्रो अन्तिम भोजन थियो- यस पृथ्वीको।
जब तिमी आयौ यहाँ...
अब तिमीसित छैन त्यो
छैन धरती
छैन देश
छैन घर
छैन त्यो- गर्भको स्वतन्त्रता।
तिम्रो बाबुको थाकेको बन्दुकको मोहोरीछेउ
युएनओको आलो छाप लागेको छ
जसको वरिपरि
भोका कमिला र हरिया झिँगाहरू घुमिरहेका छन्।
भोकले
जब तिमी रोयौ पहिलोपल्ट
तिम्री आमाले पिलाइन् आफ्नो सपना
तिमी लामबद्ध भयौ संर्घषमा।
छोरी!
जब तिमी टुकुटुकु हिँड्न थाल्नेछौ- यो बाटोमा
पुतली, फूल, पानी र धुलोसित खेल्न थाल्नेछौ तिमी
बारुदले चिथोरेको आमाको स्तन चुस्न छोड्नेछौ जब
तिमीलाई तिम्रो नाम सोधिनेछ- पहिलोपल्ट।
जब तिमी यी खेत र जङ्गलहरूमा
गाउन थाल्नेछौ गीत/बगाउन थाल्नेछौ पसिना
तिमीलाई सोधिनेछ- तिम्रो देश
आखिर तिमी एक योद्धाकी छोरी हौ
तर उनीहरूलाई कुनै मतलब हुने छैन- त्यो
पटक-पटक सोध्नेछन् उनीहरूले तिमीलाई तिम्रो नाम
तिमी उत्तर दिनेछैनौ ।
किनकि-
यस धरतीमा त्यस्ता धरतीहरू छन्
जसको कुनै नाम छैन
त्यहाँ तिमी जन्मियौ
किनकि-
यस धरतीमा त्यस्ता मानिसहरू छन्
जसको कुनै धरती छैन
त्यहाँ तिमी जन्मियौ ।
त्यसैले तिमी-
अमेरिकी, चिनिया, रुसी, जर्मनी,
अफ्रिकी, इराकी, भारतीय वा नेपाली...कुनै
आरोपित हुनेछौ
तर त्यो प्रमाणित हुनेछैन
र, तिमी आफू उभिएको
भुइँको माटो मुठ्याएर हेर्नेछौ- यो कुन देश हो...-
अफशोच!
तिम्रो योद्धाबाबुको मृत्यु भइसकेको हुनेछ!
तिम्री आमा बन्दी भएको यो शिविरको एकान्तमा उभिएर तिमी
आफ्नो बाबुको रातो डायरीको अन्तिम पाना पल्टाउनेछौ
र, खिया लागेको बन्दुक सफा गर्न थाल्नेछौ।