Last modified on 10 मई 2020, at 10:09

रगतको महासागर / अभय श्रेष्ठ

मेरै सपनाको बाटो हुँदै
रगतहरूको एउटा महासागर
बग्दै गयो
बग्दै, बग्दै, बग्दै गयो ।

रगतहरूको महासागरसँग बग्दै
म स्वयं महासागर बन्दै गएँ
उत्तरगामी घामसँगै रगतको गौरवगाथा गाइरहेँ
रगतले सिँचेको एउटा गौरवमय तस्बिर कोरिरहेँ ।

दिग्दिगन्तसम्म लम्बिएको यात्राभरि
तिमीले पनि रगतको अनन्त सौर्न्दर्यको कथा भनिरह्यौ
रगतको महासागरजस्तै निर्बिघ्न
जिन्दगीको शाश्वत सत्यको कथा भनिरह्यौ
मेरै मनको कुरा गरिरह्यौ ।

तर पर सपनाको बेसीसम्म नपुग्दै
एकाएक हराएको छ रगतको यो महासागर
कुनै निशानी छैन त्यहाँ रगतको
महादेवले पिएझैँ कालकुट विष
कसले पिइदियो रगतको यो महासागर –
छैनन् यो सपनाको बेसीमा
तिमीले सुनाएको रगतका अनन्त सौर्न्दर्यका कथाहरू
मैले कोरेको ती सुन्दर-सुन्दर मानचित्रहरू
छैनन् कतै ती सुन्दर-सुन्दर हाम्रो सपनाका रेखाहरू
मेटिएको छ एउटा यस्तो इतिहास
जसको जगमा उभिएको छ देश
यद्यपि हाम्रै रगतको मुहानबाट
रगतहरूको महासागर बगिरहेको छ
निरन्तर बगिरहेको छ ।

मेरै सपनाको बाटो हुँदै
रगतहरूको एउटा महासागर
बग्दै गयो
बग्दै बग्दै बग्दै गयो
तर पर सपनाको बेसीसम्म नपुग्दै
एकाएक हराएको छ रगतको यो महासागर ।