Last modified on 31 जुलाई 2016, at 20:38

रङ्गीन आवाजहरूको जुलुस / तुलसी दिवस

नीला आवाजहरू आकाशबाट हाम फालेर
समुद्रको नीलो सतहमा तैरिरहेछन्
राता आवाजहरू शहीदहरूको रगतबाट छड्किएर
गुराँसको रातो पत्रदलमा पोखिँदै सुकिरहेछन्
पहेँला आवाजहरू साँझको क्षितिजबाट ओर्लेर
सयपत्रीको शृङ्खलित तहमा तरेली परिरहेछन्
सेता आवाजहरू बादलको घेराबाट पग्लेर
हिमालयको उन्नत वक्षस्थलमा ठोस जमिरहेछन्
हरिया आवाजहरू वनजङ्गलबाट हुर्किएर
मुडुलो चट्टान र वस्त्रहीन नागी हुँदै
पहाडको अश्रुरिक्त बगरसँगै
खेतबारीबाट पनि उखेलिएर समुद्रको पिँधमा
हरियो थेग्रिदै तरल बसाइँ झरिरहेछन्
काला बाजाहरू मानसिक प्रकोपबाट धमिलिएर
मनको सुख्खा र विवेक स्खलनले
काल उम्लिएर बगेको कालो सुरुङ्गमा
बाक्लो अँध्यारोको अनियन्त्रित बाढीसँगै उर्लिरहेछन्
समयले फागु खेलेको यो रङ्गीन आवाजहरूको जुलुसमा
श्रद्धाले सामेल भई
आवाजको खोजीमा निस्केको म
आवाजहरूकै भीडमा अहिले आफ्नै आवाज हराएर
नितान्त आवाजहीन चुपचाप एक्लो घर फर्किरहेछु
मौन यो मेरो प्रत्यागमन
एउटा बुद्धत्व प्राप्ति हो
या अर्को महाभिनिष्क्रमणको तयारी हो

रङ्गहीन यो अनिर्णयमा यसरी म
लगातार एउटा आवाजहीन निर्णय बोलिरहेछु ।