Last modified on 1 जून 2017, at 20:56

रहर / निमेष निखिल


ढुङ्गाका कलाकृतिमा
चढाएर आस्थाका कोमल फूलहरू
दैव खोज्ने रहर छैन अब।
 
धेरै भोगियो–
बुढी औँलो गुरुदक्षिणा चढाउने
एकलव्य नियति
हनुमान्लेजस्तै छाती च्यातेर
सकिएन कहिल्यै देखाउन
समयका क्रूर पीडाहरूको तस्बिर।
अब बोल्नु छ धावा
दैवी खोल ओढेका सबै सबै काला अनुहारहरूमाथि
प्रतिकूल समयका घातप्रतिघातहरूमाथि
र परम्पराको नाममा आफैँले भिरेका अँध्यारा आस्थाहरूमाथि।
 
आज–
अनास्थाहरू झ्याङ्गिएको बनमारा घारी
फाँड्ने रहर जागेको छ
विभेद चुलिएको अघोरी पहाड
भत्काउने रहर जागेको छ
घृणाहरू मात्र बग्नु नदी–नियति हो भने
वैमनस्यता मात्र फुल्नु फूलबारी यथार्थ हो भने
थुनिदिए हुन्छ नदीहरू–
भैँसीहरूलाई आहाल बस्न
आगो लगाइदिए हुन्छ फूलबारीहरूमा–
सहअस्तित्वका चिउलाहरू उमार्न।
 
किन किन आज मलाई
खुसीहरू फक्रिएका मान्छे अनुहार हेर्ने रहर जागेको छ
उत्साह समेटेर मान्छेतिरै बढेका
मान्छे–पाइलाहरू हेर्ने रहर जागेको छ
र भत्काएर मान्छे–अवरोधमा ठडिएका हरेक पर्खालहरू
आत्मीयताका नदीहरू बगाउने रहर जागेको छ।