Last modified on 18 मई 2020, at 10:39

रातो-माटोको चौतारो / बद्रीप्रसाद बढू


रातो छ माटो बर वृक्ष छायाँ
ताजा छ मेरो मन भित्र मायाँ
मैले हिंडेको यस मृत्तिकामा
मेरा कलीला पद-चिन्ह छन् कि?//१//

म घिस्रिदै हिंड्न यहीं सिकेको
म चिप्लिँदै खेल्न यहीं सिकेको
युगान्तकारी सपना बुनेको
पवित्र मेरो धरती यही हो//२//

पलाँशको फूल छ टाकुरामा
ती लालुपातेहरूको सिमाना
बेली चमेली अनि पारिजात
थिए फूलेका सब जन्म जात //३//

गाउँ थियो सभ्यताको समाज
यतै थिए रे कवि भानुभक्त !
चढ्थे उकाली बहुतै रमाई
लिन्थे छहारी कविता बनाई //४//

यै वृक्षको शीतल छाहरीमा
कसी पलेटी म थकाइ मार्थें
यै वृक्षको माथि चढी चहार्थें
म भोक तिर्खा सहजै सहन्थें //५//

म बाल्य साथीहरू साथ खेल्दै
चौतारीको डिल मुनि नियाल्दै
म साँझमा शून्य हुँदा रमाई
मर्स्याङ्ग्दीको धून यहीँ म सुन्थें//६//

ढुङ्गो झरेको रूप बद्लिएको
जरो उठेको दुखमा रमेको
कठै ! मेरो वृक्ष सधैँ खडा छ
सधै यहीं शीतलता दिँदै छ //७//

न पानी को बिन्दु यहाँ चढाएँ
न कर्मको नै पसिना बगाएँ
बसी बसी शीतलता लिएछु
धिक्कार कस्तो निठुरी भएछु ! //८//

म भोलि यौटा चतरा बनाऊँ !
यै वृक्षको सेवक भै रमाऊँ !
यो वृक्ष लामो वय बाँचिराखोस् !
सदा सदा शीतल शक्ति साँचोस् !//९//