रोदनको उत्कृष्ट रातहरुले
जीवन जिउन
झन् ... ... गाह्रो बनाएको छ
सहर —
आफैमा गहिरो चोट लिएर विरक्त छ
विश्वास विचलित छ र अचेल मन्दिर स्तब्ध छ
धर्तीमा —
मैले आस्थाका प्रेमहरु रोपेथेँ
मेरा आस्थाका विश्वासहरु
हुरीले उडाइसकेछ / शीतले बगाइसकेछ
र,
मात्र बाँकिरहेछ धर्तीमा विश्वासका अवशेषहरु
अचेल —
मान्छे हुनुको नियतिसँग
मान्छे हुनुको परिभाषासँग
आँखाभरिभरि दुखिरहेछ — मान्छे
विश्वासभरिभरि दुखिरहेछ — मान्छे
मुस्कानभरिभरि दुखिरहेछ — मान्छे
म, समयको निर्दयी प्रहारबाट पीडित भएर
हेरिरहेछु मन्दिर जाँदै गरेकामान्छेको भीड ।
मान्छे —
विखण्डित छ साइरनहरुको धुनबाट
ए मान्छेहरु !
अब त मलाई बुझ्ने कोसिस गर
लासहरुको विरूद्धमा
अलिकता अस्मिता साटौँ,
कलेटी परेका ओठहरुसँग
पोख्नै नसकिने
जिन्दगीका तीता यात्राहरुबाट थकित भएर
म,
यतिखेर धरहराबाट बुद्ध रोएकोपालन हेरिरहेछु ।